Saturday, December 30, 2023

“काव्य धारा”। वर्ष ३, अङ्क १, पूर्णाङ्क ५ । डिसेम्बर २०२३

शब्दहरु…

समयको परिधिमा बाँधिएर, भाषाभित्र अटाएर भन्नु पर्दा, अस्तित्व/अनस्तित्वमा अवस्थित त्यो आदिम तत्व-सत्व नै हो सिर्जना। त्यसैले त जीवन्त हुन्छन् शब्दहरु। तिनै शब्दहरु सापटी लिई "काव्य धारा" पुन: छचल्किएको छ। पानाभरि पोखिएका छन् कविमनहरु, केही कलमहरु - एकात्म अन्तरिक्षको विस्तृतिमा आ-आफ्नो आयाम बाँड्न।

जीवन-मरणको असीम यात्राको असिमित शृंखलामा हामी पथिक मात्रै न हौँ। जन्मभन्दा अघि अस्तित्वमा रहेको, मृत्युपर्यन्त जीवित रहने सृष्टिको अति सूक्ष्मभन्दा सूक्ष्म अंश। तैपनि कस्तो भयावह, विशालकाय हाम्रो अहम्! अहम् मरेपछि नै सायद कवि जन्मिन्छ। आफ्ना हरेक रचना स-सँगै कवि जन्मिरहन्छ, मरिरहन्छ। कहिले राग र प्रणयको उत्कर्ष छुन्छ कवि त कहिले वैरागी हुन्छ। कवि कहिले आस्था, विश्वास, निष्ठा हुन्छ त कहिले सन्देह र आशंकाको प्रश्नचिन्ह बन्छ। "काव्य धारा"मा जीवनका यस्ता हर रङ्ग बहन्छ।

कति छोटो जीवन! कति थोरै समय!! यै धर्ती, यै आकाश, तैपनि कस्तो जगजगी यो, कस्तो यो सन्त्रास!!! धर्तीको अर्को छेउबाट युद्धको शंखनाद गुञ्जिँदा, कक्षाको घन्टीको सट्टा दर्दनाक गोलीवारी सुन्दा, कहालिएका स-साना नानीको क्रन्दनले रुवाउँदा, घडीपिच्छे अन्तरआत्मा क्षतविक्षत भइरहँदा पनि सास फेर्न बिर्सन नदिने शब्दहरु नै हुन्। त्यसैले नै लेख्छौं हामी, लेखिसाध्य नभए तापनि। त्यसैले नै बोल्छौँ हामी, बोलिसाध्य नभए तापनि।

जीवन उत्सव मनाउन प्रेरणा दिने शब्दहरु, सास फेर्न झकझक्याइरहने "काव्य धारा"का बाछिटाहरु, नित्य बहिरहोस्… अविरल… अनवरत…

सम्पूर्ण पाठकवृन्दमा सु-स्वास्थ्यको कामना सहित "काव्य धारा"को यो पाँचौं अङ्क कोसेली सादर समर्पण।

सम्पादक : अस्मिता आचार्य

https://online.fliphtml5.com/jjuzs/xlin/