Saturday, December 30, 2023

“काव्य धारा”। वर्ष ३, अङ्क १, पूर्णाङ्क ५ । डिसेम्बर २०२३

शब्दहरु…

समयको परिधिमा बाँधिएर, भाषाभित्र अटाएर भन्नु पर्दा, अस्तित्व/अनस्तित्वमा अवस्थित त्यो आदिम तत्व-सत्व नै हो सिर्जना। त्यसैले त जीवन्त हुन्छन् शब्दहरु। तिनै शब्दहरु सापटी लिई "काव्य धारा" पुन: छचल्किएको छ। पानाभरि पोखिएका छन् कविमनहरु, केही कलमहरु - एकात्म अन्तरिक्षको विस्तृतिमा आ-आफ्नो आयाम बाँड्न।

जीवन-मरणको असीम यात्राको असिमित शृंखलामा हामी पथिक मात्रै न हौँ। जन्मभन्दा अघि अस्तित्वमा रहेको, मृत्युपर्यन्त जीवित रहने सृष्टिको अति सूक्ष्मभन्दा सूक्ष्म अंश। तैपनि कस्तो भयावह, विशालकाय हाम्रो अहम्! अहम् मरेपछि नै सायद कवि जन्मिन्छ। आफ्ना हरेक रचना स-सँगै कवि जन्मिरहन्छ, मरिरहन्छ। कहिले राग र प्रणयको उत्कर्ष छुन्छ कवि त कहिले वैरागी हुन्छ। कवि कहिले आस्था, विश्वास, निष्ठा हुन्छ त कहिले सन्देह र आशंकाको प्रश्नचिन्ह बन्छ। "काव्य धारा"मा जीवनका यस्ता हर रङ्ग बहन्छ।

कति छोटो जीवन! कति थोरै समय!! यै धर्ती, यै आकाश, तैपनि कस्तो जगजगी यो, कस्तो यो सन्त्रास!!! धर्तीको अर्को छेउबाट युद्धको शंखनाद गुञ्जिँदा, कक्षाको घन्टीको सट्टा दर्दनाक गोलीवारी सुन्दा, कहालिएका स-साना नानीको क्रन्दनले रुवाउँदा, घडीपिच्छे अन्तरआत्मा क्षतविक्षत भइरहँदा पनि सास फेर्न बिर्सन नदिने शब्दहरु नै हुन्। त्यसैले नै लेख्छौं हामी, लेखिसाध्य नभए तापनि। त्यसैले नै बोल्छौँ हामी, बोलिसाध्य नभए तापनि।

जीवन उत्सव मनाउन प्रेरणा दिने शब्दहरु, सास फेर्न झकझक्याइरहने "काव्य धारा"का बाछिटाहरु, नित्य बहिरहोस्… अविरल… अनवरत…

सम्पूर्ण पाठकवृन्दमा सु-स्वास्थ्यको कामना सहित "काव्य धारा"को यो पाँचौं अङ्क कोसेली सादर समर्पण।

सम्पादक : अस्मिता आचार्य

https://online.fliphtml5.com/jjuzs/xlin/

Tuesday, May 9, 2023

Kavya Dhara Bookshelf & Merchandising

Sunday, May 8, 2022

काव्य धारा (पूर्णाङ्क ४)

पृथ्वीको उत्तरी गोलार्ध बिस्तारै तंग्रिदैछ। हावामा न्यानो भरिदैछ। वसन्त ऋतुले सिर्जना गर्दैछ सृष्टिको नवीनतम संजोगहरु— नयाँ कोपिला, नयाँ पालुवा, नयाँ अनुभूति, नयाँ आशा, नयाँ सपना। एउटा नयाँ कोसेली हाम्रो तर्फबाट पनि— "काव्य धारा"को नयाँ अङ्क। एक नूतन प्याला, नव्य काव्यको अद्भुत स्वाद सहित।

रङ्गबिरङ्गी वासन्ती यो उत्सव हाम्रो निम्ति पनि एउटा नौलो अनुभूति रह्यो— अनेसासका तीनवटा च्याप्टरहरु (अस्टिन, डालस र ह्युस्टन)ले संयुक्त रुपमा सुरु गरेको काव्यगोष्ठी “टेक्सास काव्य त्रिवेणी” मार्फत। यो त्रिवेणी टेक्सासमा नेपाली साहित्यको नयाँ लहर बोकेर आएको छ। यस अङ्कमा सोहि कार्यक्रममा वाचन भएका रचनालाई विशेष स्थान दिईएको छ। "काव्य धारा" परिवार “टेक्सास काव्य त्रिवेणी”को अर्थपूर्ण निरन्तरताको कामना गर्दछ। 

चरैवेती, चरैवेती...

अविरलता नै जीवनको उद्देश्य हुनुपर्दछ। प्राणी र प्रकृतिको परिपूर्णता मात्र दुवै मिल्नुमा सम्भव छ। कुनै एउटाले मात्रै सृष्टि धान्न सक्दैन। आफैंमा न प्राणी कमजोर छ न प्रकृति नै। हो, साथ हुँदा दुवै बलिया हुन्छन्। बिना शक्ति त शिव समेत शवमात्र हुन्। शक्ति र शिव अलग-अलग होईनन्। आ-आफैंमा पूर्ण यी दुई जब एकअर्कासँग जोडिन्छन्, तब मात्रै यी दुवै पूर्णापूर्ण बन्छन्, सम्पूर्ण हुन्छन्।

अर्ध र पूर्णको व्याख्या जति सरल छ, त्यतिकै दुर्बोध पनि। सायद त्यसैले, यस्तो अतिशय सरल कुरालाई हामी मानव जातिले दुरुह मानेको। आधा सृष्टिले सदियौंदेखि झेलिरहेको विडम्बनालाई छोएर कामना गर्दैछौं— हर दुर्बोध मनभित्रसम्म यी सिर्जनाको मर्म पुगोस्। हर दिवस, मानवता दिवस बनोस्।

सबैमा शुभ-कामना!

सम्पादकद्वय : केशवराज ज्ञवाली / अस्मिता आचार्य

https://online.fliphtml5.com/jjuzs/qlmw/

Tuesday, March 22, 2022

काव्य धारा पूर्णाङ्क ३

मानव चेतनाको प्रथम चरण शायद प्रश्नहरु हुन्। हामी प्रश्न सोधिरहन्छौ, आकाशसँग, हावासँग, सुर्य-चन्द्र र पानीसँग। के तिनीहरु हुनुको कुनै अर्थ छ? यो सब सृष्टि हुनुको केही अर्थ वा उदेश्य छ, कि यसै?

अनि प्रश्न आफ्नै अस्तित्वमा पनि उठ्छ। म जहाँ छु, त्यहाँ किन छु? म कसरी छु ? जो म भित्रबाट यी प्रश्नहरु उठाईरहेको छ, त्यो को हो? यो एउटा आयु, एउटा समयको अन्तरालसम्म मात्र अस्तित्वमा रहने नश्वर भन्दा पर, अस्तित्वको अरु कुनै आकार छ कि छैन?

यावन्त स्वरुप के त्यसकै प्रतिरुप मात्रै हो? म स्वयम् समेत यदि त्यही मात्रै हो भनेदेखिन्, के होला त त्यो पनि, म स्वयम् नै? म यहीं हुँदाहुँदै पनि कहीं नभएसरि, के त्यो पनि यहीं नै छ त, कहीं नभएरै पनि? के त्यो अस्तित्वको आकार त्यही हो, जसलाई हामीले ईश्वर भनेर चिन्छौं या अझ बढी केही छ?

त्यही ईश्वर चिन्तन गर्ने साधनको रुपमा विभिन्न धर्म वा सम्प्रदाय निस्केका हुन्, तर त्यो महान चेतना वा चैतन्य सारा धर्म, रीतिरिवाज भन्दा पर - सारा सृष्टिका लागि एक हुनु पर्छ। यी कविता, साहित्य र कला भेट्न खोजेको पनि त्यही चेतनाको उत्कर्ष हुनु पर्छ। 

सनातन धर्मको दर्शन भन्दछ, सृष्टिको सुरुवातमा शब्दमात्र थियो। मात्रै आवाज, ऒम, त्यो आवाज वा शब्द नै ब्रम्ह हो। हामी त्यही ब्रम्हको वा चेतनाको रुप ईश्वर-तत्वको साधनामा छौं।

सबै पाठकहरुमा सु-स्वास्थ्यको कामना सहित, "काव्य धारा" को अंक ३ समर्पण।

सम्पादकद्वय : केशवराज ज्ञवाली / अस्मिता आचार्य

https://online.fliphtml5.com/jjuzs/nzjb/

Wednesday, January 12, 2022

काव्य धारा अङ्क २

"काव्य धारा" वर्ष १ | अङ्क २ | पूर्णाङ्क २

कुनै दिशामा हिँड्न सुरु गर्नु महत्वपूर्ण कुरा हो। कम से कम सुरुवात त भयो। तर हिँड्नको लागि पाइला उचाल्दैमा यात्रा सुरु हुदैन। एक पटक भुईँमा टेकेर फेरी अर्को खुट्टा उचाल्दा मात्रै एक पाईला बराबरको यात्रा तय हुन्छ। हामीले उचालेको पहिलो पाइला भुईँमा टेकेर फेरि खुट्टा उचालेका छौं। "काव्य धारा" को दोस्रो अङ्क, सबै लेखक र साहित्यिक मनहरुमा समर्पित।
लाग्छ, लेख्नु अनौठो काम हो। नयाँ नयाँ विषयमा, नयाँ नयाँ अभिव्यक्तिमा आफूलाई पोखिरहनु र त्यही पोखाईमा सार्थकता खोजिरहनु। रहरले लेख्नु, बाध्यताले लेख्नु, पुरस्कार-सम्मान वा वाहवाहीका निम्ति लेख्नु र अन्य विविध प्रेरणाले लेख्नु तर लेखिरहनु। हरेक लेखकले निरन्तर लेखनयात्रा पछि सत्यको साक्षात्कार गर्नै पर्छ, त्यो हो शाश्वत सत्यका निम्ति लेख्नु।
यदि कोर्दैन सार्थक शब्द भने त्यो के कवि भो र !
यदि पार्दैन मर्म शीतल भने त्यो के अवि भो र !
मानव सभ्यता विरुद्ध उठेका हाथहरुलाई
यदि गर्दैन शब्द प्रहार भने त्यो के पवि भो र !
कलमको नोकले अन्धकार चिर्नुपर्छ जसले
यदि छर्दैन सत्य किरण भने त्यो के रवि भो र !
जीवन सुन्दर काव्य हो; काव्य जीवनको सौन्दर्य
यदि हर्दैन अन्तस्करण भने त्यो के छवि भो र !
वातावरण शुद्ध तुल्याउने चरु नै हो साहित्य
यदि खार्दैन वायु कञ्चन भने त्यो के हवि भो र !
सम्पादकद्वय : केशव राज ज्ञवाली / अस्मिता आचार्य

काव्य धारा उद्घाटन अङ्क

अनेसास अस्टिनको सगौरव प्रस्तुति: "काव्य धारा"
"काव्य धारा" । वर्ष १ । अङ्क १ । अक्टोबर २०२१
Kavya Dhara | Volume 1 | Issue 1 | October 2021

शनिवार, अक्टोबर ३०, २०२१: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अस्टिनले साहित्यिक मासिक "काव्य धारा" सार्वजनिक गरेको छ। अनेसास अस्टिन च्याप्टरद्वारा नियमित आयोजना हुने गरेको कार्यक्रम "मासिक रचना वाचन कार्यक्रम" मा पठित कविताहरुको ऐतिहासिक संग्रह गर्ने उद्देश्यका साथ प्रकाशनमा आएको हो "काव्य धारा" को लोकार्पण वरिष्ठ साहित्यकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष श्री मोहन सिटौलाले गर्नुभएको हो। कार्यक्रममा प्रसिद्ध कथाकार सरु पोखरेल विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। "काव्य धारा" को लोकार्पणको अवसरमा अनेसास अस्टिनले अतिथि सरु पोखरेलको पनि सम्मान कार्यक्रम सम्पन्न गर्र्यो। कार्यक्रमका संचालक अनेसास अस्टिनका महासचिव केशव राज ज्ञवालीले गर्नु भएको थियो। "काव्य धारा" साहित्यिक मासिकका संस्थापक सम्पादक स्रष्टाद्वय केशव राज ज्ञवाली र अस्मिता आचार्य हुनुहुन्छ।
"काव्य धारा" को डिजिटल प्रकाशन नि:शुल्क स्वरूपमा पढ्नका लागि तलको लिङ्क प्रयोग गर्नुहोला। "काव्य धारा" को प्रिन्ट कपिको आवश्यकता परेमा अथवा डिजिटल पि. डि. एफ. फाईल एक्सेस गर्नु परेमा अनेसास अस्टिन कार्यालयमा सम्पर्क राख्नुहोला। धन्यवाद।